नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफल गरेका छन् ।
नेकपा केन्द्रीय समितिले स्थानीय तह निर्वाचन उपयोग गर्ने निर्णय गरेपछि सोमबार बेलुका सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल गर्न छलफल अघि बढाएका हुन्।
स्थानीयतहमा कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल भएको बताउदै विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले भने ‘एमालेका साथीहरुले छलफल गर्न प्रस्ताव गरेपछि दुई पक्षका वीच चुनावी तालमेलका विषयमा सामान्य छलफल भयो। तीन बुँदे सहमति हुँदै आएको राजनीतिक घटनाक्रमका विषयमा छलफल भयो। स्थानीयतहमा कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल भयो। तर तालमेल गर्ने विषयमा फाईलन भईसकेको छैन।’
पुनः एमालेका नेताहरुसँग छलफल गर्ने भन्दै छुटिएको पुनले बताए। बैठकमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी,प्रदेश सचिव धर्मराज पाठक,कैलाली जिल्ला सचिव रणबहादुर कुँवर थिए। यस्तै नेकपाबाट ओमप्रकाश पुन, दलबहादुर धामी बझाङका सचिव डिपी उपाध्याय थिए।