पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डाक्टर प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरेका छन् ।
शनिबार बिहान ट्वीटरमा लेख्दै डाक्टर लोहनीले भनेका छन् , ‘सम्मानीय प्रम देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ?’
प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् । उनले त्यहाँ भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् ।