पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कतिपय आयोजना काटेको आरोप लगाएका छन् ।
बिहीबार दैलेखको दुल्लुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने , ‘मेरो सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्यो तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भयो,’ उनले भने, ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ । चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’
अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । सो क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएको उनको भनाइ थियो । उनले त्यसबेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।