News in Nepali

अछाममा सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको भन्दै एकजना किशोरीलाई ३ वर्ष जेल सजाय

Lumbinikhabar Online

अछाममा सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको भन्दै एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ।

जिल्लाको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो।

ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन्।

गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो। तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन्।

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी ती किशोरीको थियो। एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जवरजस्ती करणी गरेको जिकिर उनको थियो।

तर अदालतमा बकपत्र गर्ने क्रममा ती युवतीले युवकले विवाह गरौं भन्दा घरमा मान्छेको मृत्यु भएको र उमेर पुगेपछि बिहे गरौंला भनेका कारण आफूले रिसले मुद्दा दायर गरेको बयान दिइन् ।

उनले ती युवकसँग सहमतिमै करणी भएको समेत स्वीकार गरेको देखिएकाले पीडित भनिएकी युवतीले युवकलाई झुठा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिवादीलाई झुठा मुद्दामा फसाउने प्रयत्न गरेबापत ती किशोरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ बमोजिम यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ।

Tags

छुटाउनु भयो कि ?