संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । बुधवार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।
उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी अगाडी बढेको जानकारी दिए । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तिनवटा उडान भरिएको बताए ।
मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताए । पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले उल्लेख गरे ।
मन्त्री आलेले क्यासिनोहरूको रोयल्टी र नवीकरण तथा अन्य होटल व्यवसायमार्फत दस्तुरमार्फत सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको बताए । रोयल्टी रकम बुझाउन अटेर गर्ने ३ वटा क्यासिनोको लाइसेन्स रद्द गरिएको उनले बताए ।