स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले महासङ्घको सदस्य रहेका पत्रकारलाई ` उपचार सुविधा परिचयपत्र´ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताएका छन् ।
आज नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘यो आर्थिक वर्ष समाप्त हुन लागिसक्दा पनि यो विषय कार्यान्वयन हुन नसकेकामा म चिन्तित छु, विषयगत रुपमा सञ्चार मन्त्रालयअन्तर्गतको कार्यक्रम भए पनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसँग जोडिएको विषय हो, म मेरै कार्यकालमा यो विषय कार्यान्वयको सुरुआत होस् भन्ने चाहन्छु’ ।
मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाउँदै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने बताए ।