आगामी वैशाख २ गते लमजुङको घले गाउँलाई सुखी गाउँ भनी घोषणा गरिने भएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा घले गाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको हो ।
गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घले गाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’को रुपमा घोषणा गर्न लागिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेजन घलेगाउँ, लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।
घले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो । घलेगाउँमा सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छ । घले गाउँका १३५ घरधुरी रहेकोमा ४२ घरधुरीले होमस्टे चलाएका छन् । होमस्टे सञ्चालन नगरेका स्थानीयले ग्रामीण पर्यटनलाई लक्षित गरी अन्य व्यापार, व्यवसाय तथा कृषि पेशा सञ्चालन गरेका छन् ।
स्थानीयले भेडाको ऊन, निगालो साथै अल्लोबाट हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन बढाएका छन् । अन्य परम्परागत पेसा, व्यवसायको पनि जगेर्ना गरिएको छ । यसले यहाँको दीगो आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउनुका साथै प्राचीन सभ्यता र संस्कृति संरक्षणमा थप मद्दत पुगेको छ ।
गाउँमा प्राचीन इतिहास झल्काउने संग्रहालयको निर्माण गरिएको छ । पर्यटक आगमनको वृद्धिले यहाँको ग्रामीण जीवनस्तर माथि उठ्नुका साथै पर्यावरण र संस्कृतिको जगेर्ना भएकाले पनि यहाँको पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको क्वलहोलासोँथर गाउँपालिकाका अध्यक्षसमेत रहेका घलेले बताए । –न्युज कारखाना