News in Nepali

बिदेशमा गएका नेपालीले त्यहाँ तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्छ : प्रधानसेनापती शर्मा

Lumbinikhabar Online

प्रधानसेनापति प्रभुराम शर्माले नेपालीहरुले विदेशमा गइ तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्ने गरेको बताएका छन् ।

आज भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा  विदेशमा गएकाले धेरै दुःख पाएको देखेको घटना सुनाउँदै उनले भने, ‘त्यहाँ नेपाली तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्छ, नेपाली माटोमै केही गरेर देखाउनुस्, विदेशमा पैसा फलेको हुन्न, झन् दुःख पाइन्छ, तपाईँ सक्षम हुनुहुन्छ तालिम र ज्ञानलाई यही प्रयोग गर्न अनुरोध गर्छु ।’

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषमार्फत प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको सदुपयोग गरी स्वरोजगार र आयआर्जन बढाउँदै जीवनस्तर उकास्न सुझाव दिए ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी, अप्रा उपरथी शम्शेर ठकुरी र बलाध्यक्ष रथी सरोजप्रताप राणाले कोषमार्फत सञ्चालन भएका स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत कार्यक्रमले भूपू सैनिकको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गरेका थिए ।

सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो । कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तक्र्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो ।

Tags

छुटाउनु भयो कि ?