पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले) सजाए दिनुपर्ने वेला आएको बताएका छन् ।
पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता खनालले भने, ‘संविधानका प्रावधानहरुको विरुद्ध गएर संसद विघटन गर्ने योजना बनाए । यो अर्को दक्षिणपन्थी अवसरवाद हो । दक्षिणपन्थी भड्कावको कुरा हो । अपराधको कुरा पनि हो त्यो । एउटा सामान्य ऐन उल्लंघन गर्दाखेरी मान्छे जेल जान्छ । तर संविधान नै उल्लंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारण अब उनलाई सजाय दिने बेला आएको छ । अब यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो सजाय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पाउनुपर्छ हेर्नुस् । तब मात्रै वास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ । तपाई, हामीले पनि संविधानको रक्षा गरेको ठहरिन्छ । यस्ता खालका अपराधिक काम उनले गरेका छन् ।’
खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुनेगरी तयारी गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।