रामेछापमा दही चोरेको भन्दै १२ वर्षीया दलित बालिकालाई बन्धक बनाएर यातना दिइएको छ । जिल्लाको मन्थली नगरपालिका–६ मा स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले उनलाई यातना दिएका हुन् ।
फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित परिवारले श्रेष्ठविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । मन्थली नगरपालिका–६ चिउरीपानीस्थित श्रेष्ठको घरबाट प्रहरीले बालिकालाई उद्दार गरेर सदरमुकाममा ल्याएको थियो ।
घरभित्र पसेर चोरी गरेको आरोपमा श्रेष्ठका परिवारले हात पछाडि बाँधेर शरीर थाममा बाँधेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।