नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउटडेटेड औषधी खाएर स्वास्थ्य विगार्न नहुने भन्दै माधव नेपाल र झलनाथ खनाल प्रती व्यङ्ग्य गरेका छन् ।
मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए । उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।
उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै उनले भने , ‘आउटडेटेड औषधी खाएर स्वास्थ्य विगार्नु हुँदैन । कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही हुँदैन’, ओलीले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेका भन्दै तराईबाट बस चढेर काठमाडौंमा आउने क्रम बढिरहेको बताए । उनले वर्तमान सरकारले पुस्तकमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै त्यहीबाट हैसियत थाहा भएको बताए ।