News in Nepali

रुकुम पूर्वको जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरियो

Lumbinikhabar Online

रुकुम पूर्वको जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा बिहीवार कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएका सकेट बम आज शुक्रवार डिस्पोज गरिएको हो ।

रुकुमकोटबाट गएको नेपाली सेनाको टोलीले दिउँसो बम डिस्पोज गरेको हो । कालो ड्रमबाहिर रहेका दुई वटा र ड्रमभित्र रहेका आठ वटा गरी १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको हो ।

हिजाे दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । पछि वडा कार्यालयले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो । आज बिहान बम डिस्पोज गर्न जिल्लाबाट नेपाली सेना र नेपाल प्रहरीको टोली गएको थियो ।

सकेट बम विगतको जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाएर राखेको हुन सक्ने बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?