पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने टिप्पणी गरेका छन् ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले भने, ‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौँ । आ आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ । त्यसले केही फरक पार्नेवाला छैन ।’
पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनको भविष्यका बारेका प्रश्न उठिरहेका बेला पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताए । उनले एमसीसी अन्तर्राष्ट्रिय सम्झौता नभएको भन्दै अमेरिकाले भन्दैमा नेपालको संसदबाट पारित गर्नुपर्ने कुरा स्वीकार्य हुन नसक्ने बताए । उनले सरकारले नेपालको संविधानको बिरुद्धमा गएर एमसीसी संसदमा पेश गरेको भन्दै यो सरकारको लज्जास्पद कुरा भएको बताए ।
नेता खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने टिप्पणी गरे । ‘त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन । हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ ।’