साँस्कृतिक एवं ऐतिहासिक मध्यपुरथिमि नगरपालिकाको शंखधर साख्वाः चोकमा बिभिन्न जातजातीको भेषभूषा झल्किने पहिरणमा लामबद्ध कलाकारहरुले सिंगो देश यहीँ उभिएको आभाष दिइरहेको थियो ।
नेवारी परिहण हाकुपटासीदेखि, थारु, मैथली, भोजपुरी, लगायत देशभरबाट आएका कलाकारको पहिरणसँगै प्याब्सन अन्तर्गत मध्यपुरथिमिका बिभिन्न बिद्यालयबाट आएको लामबद्ध बिद्यार्थीहरुको हौसलाले मध्यपुरथिमिको रौनक बढाइरहेको थियो ।
मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको आगमनसँगै आकाशबाट हेलिकप्टरले पुष्पबृष्टि गरेसँगै यहाँ छुट्टै रौनक देखियो ।
पुष्पबृष्टि पछि नगर प्रमुख श्रेष्ठले रिबन काटेर सुरु गर्नु भएको बिभिन्न पहिरणका झाँकीसहितको र्याली बालकुमारी, दुईपोखरी, बाहखा बजार, नगदेश बोडे हुदैँ थिमिको ऐतिहासिक एवं धार्मिक महत्व रहेको कुमारी मन्दिर परिसरमा गएर नृत्य महोत्सवमा परिणत भयो ।
कार्यक्रमको उद्घाटन गर्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले धार्मिक, साँस्कृतिक एवं ऐ्तिहासिक महत्व बोकेको मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य दिवसको आयोजना गर्न पाउनु आफैमा गौरब भएको बताउनु भयो ।
दुई वर्ष अगाडिसम्म फोहोर फाल्ने डम्पिङ् साइडको रुपमा रहेको यो क्षेत्रमा वर्षको एक पटक बिस्केट जात्रामा मात्रै जात्रा सञ्चालन गर्न आउने गरिएकोमा नगरपालिकाले यसलाई संरक्षण गरि कुमारी पार्कको रुपमा बिकास गरेपछि आज दैनिक यो क्षेत्र हेर्न र घुम्न आउनेहरुको लर्को देखेर आफू जनप्रतिनिधि भएर समय खेर नगएको महसुस भएको उहाँले बताउनु भयो ।
उहाँले नेपालमै पहिलो पटक आजबाट सुरु भएको राष्ट्रिय नृत्य दिवस मध्यपुरमै मनाउन पाउदा खुसी लागेको बताउदै मध्यपुर यतिखेर घुम्न आउने थलो मात्रै नभई बिभिन्न फिल्म तथा म्युजिकि भिडियोको छायांकन स्थलको रुपमा समेत परिणत भएको बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमिमा नृत्य एवं साँस्कृतिक गुरु श्रीगोपाल प्रजापति १० हजारसहित सम्मान गर्नु भयो ।
संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नेपालमै पहिलो पटक राष्ट्रिय नृत्य दिवस मनाउन आजबाट सुरु भएको र यसलाई मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेकाले हरेक वर्ष मनाइने यो दिवसमा यस नगरपालिकालाई बिर्सन नसक्ने बताउनु भयो ।
कला र कलाकारको बिकासमा नगरपालिकाले पुर्याएको योगदानको नृत्य निर्देशक संघले सधै कदर गर्ने बताउनु भयो ।
संघका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले प्यब्सन भक्तपुरले देशभरबाट आएका कलाकार एवं नृत्य निर्देशकको स्वागत गरेको बताउदै कार्यक्रममा देशभरका ५४० जना नृत्य निर्देशक एवं कलाकारहरुको सहभागिता रहेको बताउनु भयो ।
शंखधर चोकबाट सुरु भएको र्यालीमा ४० जिल्लाका कलाकारहरुको झाँकी प्रर्दशन भएको, कुमारी पार्कको कार्यक्रममा ३० जिल्लाका कलाकार एवं नृत्य निर्देशनहरुको सहभागिता रहेको उहाँले बताउनु भयो ।
– Radiohimalayan.com.np