प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी पेस हुने बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका छन् ।
‘भोलिको बैठकमा एमसीसी पेस हुनेमा म विश्वस्त छु, यो विषयमा मैले सभामुखज्यूसँग परामर्श गरिरहेको छु’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री गगन थापाले भने । बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको पनि उनले बताए ।
एमसीसी सम्झौता यो अवस्थासम्म आउँदा सबै दल सरकारमा बसेर कुनै न कुनै निर्णय गरेकाले अहिले विरोध गरेर उम्कन नपाइने पनि कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।