सरकारले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल घट्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सर्वोच्चमा दिएको निवेदन दरपिठ भएको छ ।
मेयर साहले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकेको तर सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो कार्यकाल पूरा नहुने भन्दै पाँच वर्षे कार्यकाल निर्बाध उपभोग गर्न पाउँ भन्दै परमादेशको माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए । तर सर्वोच्चले भने स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ मा अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा १ बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने उल्लेख भएको स्मरण गराउँदै निवेदन दरपिठ गरिदिएको छ ।
आदेशमा भनिएको छ, ‘नगरप्रमुखको पाँच वर्षको कार्यकाल घटाउने प्रवल सम्भावना रहेको भनी विना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन ।’
सर्वोच्च अदालत प्रशासनबाट भएको यो आदेशविरुद्ध मेयर साहले सर्वोच्च अदालतमै निवेदन दिन पाउँछन् । त्यो निवेदन कुनै एक न्यायाधीशको इजलासमा पेश हुन्छ
इजलासले दरपीठको आदेश सदर गरेमा त्यो निवेदन दर्ता हुन सक्दैन भने बदर गरेमा सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्नुपर्ने हुन्छ ।