केही समय एता विद्युतीय कारोबारमा ठगी बढेको भन्ने गुनासो आएको जनाउँदै राष्ट्र बैंकले सर्वसाधारणका लागि ७ बुँदे सुझाव दिएको छ । आफ्नो पासवर्ड तथा ओटीपी सुरक्षित साथ गाेप्य राख्न, अनावश्यक एप मोबाइल तथा ल्यापटपमा डाउनलोड नगर्न, चिठ्ठाको प्रलोभनमा नफस्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
१.सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भन्दै इन्टरनेट अथवा मोवाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेकोभनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनुजरुरी देखिन्छ ।
२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।
३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।
४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नु हुँदैन । यसरी अनधिकृत ब्एए डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।
५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।
६. कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो/होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।
७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाइसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।