मुस्ताङमा भारी हिमपातका कारण बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको छ ।
हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी नपठाउन आग्रह गरिएको छ । सडकमा जमेको हिउँ पग्लिएपछि र मौसम खुलेपछि मात्रै यातायात सञ्चालन हुने जनाइएको छ। मुस्ताङमा अहिले पनि हिमपात भइरहेको जनाइएको छ ।
यसैबीच वर्षा, हिमपात र कोभिड–१९ सङ्क्रमण जोखिमको कारण यात्रु नपाउँदा जोमसोम–पोखरा विमानस्थलमा हवाई उडान पनि अवरुद्ध बनेको स्रोतले जनाएको छ ।
यस्तै हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा हिजो रातिदेखि विद्युत् सेवा समेत अवरुद्ध भएको जनाइएछ ।
वर्षा र हिमपातले अत्यधिक चिसो बढेपछि नागरिकहरु घरभित्रै आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य भएका छन् । वर्षा र हिमपातले खाद्यबाली राम्रो हुने भएपछि किसानहरु भने उत्साहित बनेका छन् ।