संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अब पशुपति धर्मशाला बतास समूहले सञ्चालन नगर्ने बताएका छन् ।
पशुपति क्षेत्र विकास कोष र बतास समूहअन्तर्गतको होटेल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटेलका रुपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम शय्याको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृति विना धर्मशालामा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्य गरेको पाइएको थियो ।