नेकपा समाजबादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा १९ सिट नै गठबन्धनले जित्ने बताउनुभएको छ ।
आज बुधवार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे दाबी गर्दै राष्ट्रिय सभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरङ्ग पैदा गर्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तारुढ दलहरूबीच एकै पटक तीन वटा तहको चुनाव गराउन सके खर्च कम लाग्ने भएकाले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो ` एकै पटकमा तीन वटा नै तहको चुनाव गर्न सकियो भने राम्रो हुन्छ । एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्ब रुपैयाँमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’