डोटीमा अमला टिप्न भनी जङ्गलतिर गएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । मृत्यु हुनेमा केआई सिंह गाउँपालिका-६ की २० वर्षीया हरिना भाट रहेको बताइएको छ ।
आइतबार बिहान करीब ९ बजेतिर जङ्गल गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे रोक्टान खोला नजिकै शव फेला पारेको स्थानीयले बताएका छन् ।
भाटले प्रयोग गरेको चप्पल र सल बाटो भेटिएको र शव बाटोभन्दा करीब पाँच मिटर तल घोप्टे अवस्थामा फेला परेको मृतका मामा नाता पर्ने इन्द्र भट्टले बताएका छन् ।
लडेर मृत्यु हुन सक्ने कुनै अवस्था नदेखिएको भन्दै मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।