नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन लाई १३ अर्ब रुपैयाँ २० करोड भुक्तानी गरेको छ ।
निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई आज भुक्तानी गरेको स्रोतले जनाएको छ ।
सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।