प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्यको आवस्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यक हुने उल्लेख गर्नुभएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व उल्लेख गर्दै बिपी कोइराला तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला मुद्दाहरूको परवाह नगरी ज्यान नै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गर्नुभएको कुरा व्यक्त गर्नुभयो ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको दिनलाई मेलमिलाप दिवसका रुपमा मनाइदै आएको छ ।