-डा.डिआर उपाध्याय,
हाम्रो देशमा बिकास र समृद्धिका कुरा चल्न थालेको धेरै भयो । तर अझै पनि राजनीतिक दल र तिनका नेताहरु बिकास र समृद्धिका कुरा गर्न थाकेका छैनन् । बिकास र समृद्धि कुराले मात्र हुन्छ की काम पनि गर्नु पर्छ ? जनताको त्याग , तपस्या, बलिदान र जनताको बलमा ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । ३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा दोहोरिएका छन । जनताले उनीहरुबाट के आश गर्ने ? लोकतन्त्रको नाममा नेता र दल पाल्ने काम बाहेक केही भएको छैन । सरकारी ढुकुटी हरेक बर्ष नेता पाल्दा पाल्दै सकिने गर्दछ ।
देशमा ७ सालदेखि परिवर्तनका लागी जनता लडदै आएका हुन । जनताले देशको अबस्था बदल्न ब्यवस्था परिवर्तन गरेका हुन । नेताहरुलाई सुख सयल र आरामको जिन्दगी बिताइदिन जनताले यो ब्यवस्था परिवर्तन गरेका होइनन् । देशमा महँगी बढेको बढै छ । जनता मारमा छन । विदेशी ऋणको भार छ । के लोकतन्त्रको सुन्दर मुहार यही हो ? जनता जाडोमा शीतलहरमा, गर्मीमा चट्याङ र हुरी बतासमा, वर्षामा बाढी र पहिरोमा, कहिले अप्रत्याशित भूकम्प, कहिले कोरोना र ओमिक्रोनको त्रासमा बाँच्नु परेको छ । लामो समयदेखि पुरानै राजनीतिक पात्रहरुले पालै पालो सरकार चलाउदै आएका छन ।
४६ को परिवर्तनपछि अधिकांश समय लोकतन्त्रवादी नेपाली कांग्रेसले देशमा सरकार चलाएको छ । सबैजसो सरकारमा कम्युनिस्टहरूले सत्ताको साझेदारी गरी नै रहेका छन् । जनताले दुई तिहाइको कम्युनिस्ट सरकार बनाइदिएका पनि हुन् । तर कम्युनिष्टलाई पनि दुई तिहाई बहुमत पचेन । बर्तमान कांग्रेस सरकार पनि कम्युनिस्टकै बैशाकी टेकेर बनेको हो । यो परमादेशको सरकार पनि हो । कसैले हल्लाउन नसक्ने गरी कम्युनिष्टलाई जनताले दुईतिहाई मत दिए तर नेताहरुको घमण्डले मातिएर चिराचिरामा परे । कम्युनिस्टहरूको यो शैली देखेर जनता भने वाक्कदिक्क भएका छन् ।
यहाँ जग्गा प्लटिङमा दलकै मान्छे छन् । केन्द्रदेखि स्थानीय तहसम्मको ठेक्कापट्टामा दलकै मान्छे छन् । निजी विद्यालय, कलेजदेखि विश्व विद्यालयसम्म दलकै छन् । सार्वजनिक जग्गा वितरणमा दलनिकट हुने गरेको छ । शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, होटल, डिपार्टमेन्टल स्टोर, जल विद्युत् आदिमा नेताहरूकै सेयर, लगानी भएको चर्चा छ, चिल्ला र महँगा गाडी उनैका छन । अग्ला घर, महल पनि उनैका छन । उद्यमी, व्यवसायी पनि नेता बनेका छन । अब हाम्रो देशको राजनीति कता जान खोजेको हो ?