टप खबर

नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’

Lumbinikhabar Online

नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धर यो वर्षको ‘एनसेल वुमन आईकन आईसिटी अवार्ड’बाट सम्मानित हुनुभएको छ । सूचना तथा प्रविधि क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत आईसिटी अवार्डको छैठौं संस्करणको समारोहमा उहांले उक्त अवार्ड जित्न सफल हुनुभएको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उहांलाई उक्त अवार्ड सहित नगद ३ लाख पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

लिभिङ विथ आइसीटीले काठमाडौंमा आयोजना गरेको ग्राण्ड फिनालेमा सूचनाप्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको हौसला बढाउने उद्देश्यले आयोजित उक्त समारोहमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन आवेदन परेको थियो। जसमध्ये वरिष्ठ सूचना विज्ञ मानन्धरले उक्त विधामा सर्वोत्कृष्ट वुमन आईकन आईसिटी अवार्ड हात पार्न सफल हुनुभएको हो ।
अवार्ड जिते पछि छोटो मन्तव्य राख्दै उहांले ‘महिलाहरुलाई अवसरको खांचो भएको र महिलाले आईटि क्षेत्रमा निकै राम्रा राम्रा काम गरेर देखाएको स्मरण गराउदै सवैको साथ सहयोगको खांचो रहेको र यो अवार्डले आफुलाई थप जिम्मेवारी बढाएको महशुसस भएको’ कुरा व्यक्त गर्नुभयो ।

३५ वर्ष भन्दा लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा सक्रिय मानन्धरले समाजसेवामा समेत उत्तिकै योगदान दिनुभएको छ । नेपाल टेलिकमको कम्प्युटर ईन्जिनियरको रुपमा शुरु भएको उहांको सूचना प्रविधी यात्रा निर्देशक हुदै विभिन्न सरकारी संस्थामा मात्र ३१ वर्ष भन्दा लामो समय देखि सक्रिय रुपमा कार्यरत हुनुहुन्छ । सूचना प्रविधी सम्बन्धि तालिम तथा जनचेतना बढाउने कार्यमा समेत उतिकै सक्रिय मानन्धर विभिन्न संघ संस्थाबाट सम्मानित हुदै आउनुभएको छ ।

Tags

छुटाउनु भयो कि ?