एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनावको तयारीमा लागेको उल्लेख गर्दै एकल बहुमत ल्याउने दाबी गरेका छन् । नारायणी नदी किनारमा शुक्रबार पार्टीको दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशभरबाट जम्मा भएका नेता–कार्यकर्ताको आत्मबल बढाउने गरी देशको सार्वभौमसत्ताको रक्षा, विकास र संविधानलाई सही बाटोमा डोर्याउन एमालेको एकल बहुमत चाहिने तर्क गरे । सत्ता गठबन्धनका नेताहरू सहभागी भएको मञ्चबाट उनले आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।
निकट भविष्यमा चुनावहरू आउँदै छन्, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं, हामी जनमतको तयारी गर्नेछौं,’ उनले भने, ‘जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ । एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि हो । देशको सार्वभौमताको रक्षा गर्नका लागि हो । देशमा लोकतन्त्र फेरि गुम्न नपाओस्, त्यसको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि । संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्छ ।’