नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
डिआईजी मन्दिप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालयमा आईजीपीको सचिवालयमा सरुवा गरिएको छ भने हेटौडामा डिआईजी किशोर प्रधानलाई पठाइएको छ । प्रधान विन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका प्रमुख थिए । एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्मानीमध्ये एक परेका छन् डिआईजी प्रधान ।
डिआईजी कुलबहादुर नेम्बाङ्गलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी वाहिनी, रुपन्देही सरुवा गरिएको छ । त्यसैगरी,डिआईजी राजु अर्याललाई पशुपतिनाथ वाहिनी, काठमाडौंको प्रमुखबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ । पशुपति वाहिनीको प्रमुखमा डिआईजी बंशीराज दाहाललाई लगिएको दाहाल छ । यसअघि दाहाल बराह वाहिनी मुख्यालय सुनसरीका प्रमुख थिए अर्थात् पूर्वाञ्चलका कमाण्डर थिए । दाहाल पनि एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्यमानी डिआईजी ठहरिएका छन् । पूर्वाञ्चलको नयां कमाण्डरमा डिआईजी कमल गिरी लगिएका छन् । उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मुख्यालयमा कार्यरत थिए ।
सशस्त्र प्रहरीको पश्चिमाञ्चल पोखराको कमाण्डरबाट डिआईजी नारायणदत्त पौडेललाई सरुवा गरी मुख्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा लगिएको छ भने पश्चिमाञ्चलको कमाण्डरमा डिआईजी शम्भु सुवेदीलाई खटाइएको छ ।