हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गएरातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।
गएरातीबाट परेको वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुवानमा परेको छ भने नदीहरुमा पानी वहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ ।
राजधानीका शान्तीनगर, धोबीखोला किनार, सुन्दरीघाट र बगमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरी प्रवक्ता बसन्त कुँबरले बताएका छन् ।
अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या भएको छ । राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।
यसैबीच देशभर आगामी तीन दिनको मौसम अझै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यसैबीच गए रातभरको अबिरल बर्षाको कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ ।