डा.डिआर उपाध्याय,
बेला बेलामा नेपालको राजनीतिमा उतार चढाव आउने गरेको छ । आम नागरिकमा राजनीति प्रति यति बेला त्यति उत्साह छैन । राजनीति बातावरण पनि त्यति सहजै रुपमा अघि बढन सकेको छैन । लामो समय देखिको आन्दोलन, सङ्घर्ष र बलिदानमार्फत देशमा यो उपलव्धी हासिल भएको हो । उपलव्धी माथि कसैले खेलवाड गर्नु हुदैन र गर्न दिनु पनि हुदैन परिवर्तन ल्याउन धेरैको त्याग , तपस्या र बलिदान छ ।
नेपालका राजनीतिक दल र तिनका नेताहरु बेला बेलामा बेइमान हुनाले यी समस्याहरु उत्पन्न भएका हुन । प्रप्त उपलव्धीलाई संस्थागत विकास गर्ने बाटो तर्फ सवै लोकतन्त्रवादी शक्ति इमानका साथ लाग्नु पर्छ । परिवर्तित अबस्थालाई सवैले जोगाएर राख्नु पर्छ । नागरिकहरूको जीवनसँग जोडिएका तमाम समस्याहरु राज्यले सम्वोधन गर्ने नीति कार्यक्रम ल्याउनु पर्छ ।
नीति ल्याएर मात्र हुदैन, कार्यान्वयन गर्ने बाटोमा पनि अग्रसर हुनु पर्छ । अब परिवर्तनको संस्थागत विकास गरी मुलुक अघि बढनु पर्छ । दिगो बिकास नै आजको आबश्यकता हो । सत्ता केन्द्रित राजनीतिले मात्र मुलुकलाई निकास दिदैन ।शक्तिका लागि जे पनि गर्ने, सत्तामा एकपटक बसिसकेपछि त्यहाँबाट बाहिर आउन नखोज्ने प्रवृत्ति र चिन्तनले नेपालको राजनीति थला परेको छ । शासन प्रणालीमाथि सधैँ खतराको घण्टी बजिरहेको छ ।
आमनागरिकहरूमा राजनीतिक दलहरू तथा नेताहरूप्रति विश्वास घटदै गएको छ । दल र तिनका नेताहरुले दिगो रुपमा जनताको मन जित्न अझै सकिरहेका छैनन् । । शक्तिका लागि जे पनि गर्ने दल र तिनका नेताहरुलाई जनताले चिनिसकेका छन । यो परिस्थितिभित्र राजनीतिक अस्थिरताको बीउ छर्ने काम नेपालका राजनीतिक दल आफैंले गरिरहेका छन् । सरकारले गलत काम गरिरहेको छ भने नागरिकहरूले खवरदारी गर्न छोडनु हुदैन । सरकार भनेको नागरिकको अभिभावक हो ।
राज्यप्रति नागरिकहरूले आफना गुनासा राख्न पाउने अधिकार छ । यसमा कोही डराउनु पर्ने आबश्यकता छैन । राज्य नागरिकको जीवन सहज बनाउने काममा सधै तत्पर रहनु पर्छ । देशमा अन्योलता सिर्जना गर्न कसैलाई दिनु हुदैन । राज्यका सेवा सुविधामाथि नागरिकको सहज पहुँच स्थापित गर्नु पर्छ । नागरिकहरूको करको सदुपयोग गर्ने काममा राज्य इमानदार बन्नु पर्छ ।
पारदर्शी र सुशासन कायम गर्ने कुरामा राज्यको ध्यान सधै केन्द्रित बन्नु पर्छ । हम्रो देशमा एउटा व्यक्ति सधैँभरिका लागि नेता बनिरहन खोज्छन । यो पनि देशका लागी समस्या हो । लोकतन्त्रमा बेला बेलामा नेतृत्व परिवर्तन भइरहनु पर्छ । यस्ता सवालले नै लोकतान्त्रिक राज्य प्रणाली बलियो बन्छ । आवधिक निर्वाचन, कानुनी शासनको प्रत्याभूति, सुशासन र जवाफदेही सरकार सञ्चालन नै लोकतन्त्रका आधारभूत मूल्य मान्यता हुन । नेपालका राजनीतिक दलहरूले नेपालको शासन प्रणालीको परिवर्तनका लागि निकै लामो सङ्घर्ष र बलिदान गरेका छन् ।
राजनीतिक परिवर्तनका लागि आम नागरिकले दलहरुलाई साथ र सहयोग गदै आएका हुन । तर परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्फत आम जनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि दलहरु र तिनका नेताहरु चुकिरहेका छन् । जबसम्म हामी नेपालका राजनीतिक दलहरूभित्र लोकतान्त्रिक वातावरण निर्माण गर्न सक्दैनौँ, व्यक्तिगत स्वार्थ र सर्वसत्तावादी चिन्तन प्रवृत्तिमाथि बोल्न सक्दैनौँ, त्यसबेलासम्म लोकतन्त्रमाथि खतरा रहीरहन्छ ।