जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक साता निषेधाज्ञा थप गरेको छ। सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थप गरेको हो।
कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण थप फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
जनजीवन सहज बनाउने भन्दै प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालको भनाई छ।
निषेधाज्ञाको अवधिमा सुर्खेत प्रशासनले औषधि पसलहरू २४ सै घण्टा खुला राख्ने निर्णय गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका पसल भने बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ।
त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।
होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भीडभाड नगरी सञ्चालन गर्न सकिने महतको भनाई छ। त्यस्तै सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ।