टप खबर

विमला वली एमालेकै सांसद रहेको प्रमाण भेटियो!

Lumbinikhabar Online

लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलापछि पनि एमालेमै रहेको पुष्टी प्रदेश सभाले गरेको प्रमाण फेला परेको छ । लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले माओवादी केन्द्र रोजेकी विमला वलीलाई कारबाहीको माग गरिरहेका बेला प्रदेश सभा सचिबालयको कागजात भेटिएको हो ।

प्रदेश सभा सचिबालयले ०५ चैत ०७७ मा नेकपा एमालेलाई सांसदको विवरण उपलब्ध गराउन पत्र काटेको थियो । पत्र संख्या ०७७/०७८ को चलानी ५३३ मा सचिवालयले एमालेलाई २३ फागुन ०७७ को सर्वोच्चको फैसलापछि माओवादी केन्द्र र एमाले अलग-अलग भएकाले एकीकरण हुनुअघिको साविककै अवस्थामा कायम रहेको व्यहोरा जानाकारी दिन भनेको थियो । त्यही पत्रका आधारमा एमालेले १५ चैत ०७७ मा एमालेबाट संलग्न भएका सांसदहरुको विवरण प्रदेश सभा सचिबालयलाई पठाएको थियो ।

प्रदेश सभा सचिबालयलाई सम्बोधन गरी १५ चैत ०७७ मा एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले ४३ जना सांसदको विवरण सचिबालयमा पठाएकोमा ४३ नं. मा विमला वलीको नाम रहेको छ । दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित वली एमालेमै रहेको विवरण सचिबालयमा पठाएमोमा उक्त विवरणलाई पुष्टि गरी प्रदेश सभा सचिबालयले छाप लगाएको छ ।

एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले विमला एमालेमै रहेको विवरणमा प्रदेश सभा सचिबालयले चैतमा प्रमाणित गरिसकेकाले दल रोज्ने अधिकार वलीमा नभएको बताउँदै आएका छन् । वलीले १९ बैशाखमा दल रोज्न पाउने अधिकारअनुसार माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलन गरेर बताएकी थिईन् । तर एमालेले त्यसभन्दा अघि एमाले संसदिय दलको बैठकमा पनि विमला वली सहभागी भएको बताउँदै आएको छ ।

एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सभा सचिबालयले विवरण माग गरेअनुसार आफुहरुले सांसदहरुको नाम दिएको र त्यसलाई सचिबालयले पुष्टि गरेको बताए । ‘त्यो बेला विमला वलीको नामसमेत विवरणमा समाबेश थियो । सचिबालयले सदर पनि गरेको प्रमाण छ,’ उनले भने । वलीले माओवादी रोज्नुअघि एमालेका कार्यक्रममा समेत उपस्थित भएको उनले बताए ।

Tags

छुटाउनु भयो कि ?