नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताए ।
यसबीचमा माधव नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका हुन् ।
शनिबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले ‘यत्रो दु:ख गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरु गर्दा आफूहरुले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए । तर नेपालले सरकारलाई काम गर्नबाट नरोकेको समेत प्रष्ट पारेका थिए ।
नेपालले भने, ‘यत्रो मेहनत गरेर हामीले यो सरकार ल्याउने,अनि सरकारको जम्मै ठाउँमा नियुत्ति केपी ओलीले त विरोध गर्ने भइहाल्नुभयो अनि यो सरकारलाई गर्न दिने ? देशभरका जम्मै नियुक्तिहरुका कुरामा गर्ने के ? तर हामीले रोकेका छैनौं है,सरकारको बारेमा । हामीले भनेका छौं कि तपाईहरु सरकार बनाउँदै गर्नुस्,मन्त्री बनाउँदै गर्नुस् । किनभने हाम्रै टुंगो छैन,के हुने भन्ने ।’
यसबीचमा भूमि आयोग खारेज गरेर नयाँ गठनादेशमार्फत नयाँ नियुक्ति गर्न खोजिए पनि सर्वोच्च अदालतको अन्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ । अन्य राजनीतिक नियुक्तिका व्यक्तिहरुलाई पनि राजिनामा दिन भनिएको छ । राजिनामा नदिनेहरुलाई प्रक्रिया पूरा गरेर हटाउने तयारी सरकारको छ ।
त्यस्तै केपी ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी सरकारको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।
नेपाल पक्ष कानूनी रुपमा पार्टी एउटै हुँदा सरकारमा सहभागी हुन नमिलेका कारण सरकार विस्तार तथा राजनीतिक नियुक्तिका कुराहरु केही पर धकेलिएका छन् । तर यो अवस्था धेरै दिन नरहने नेताहरु बताउछन् ।