कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रोमा वीरगञ्जका अस्पतालमा ४ गुणा बढी मानिसको मृत्यु भएको छ । पहिलो लहरमा ८६ जनाको मृत्यु भएकोमा दोस्रो लहरमा ३ सय ४३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पहिलो लहरमा पर्साका ५५ र अरु जिल्लाका ३१ जनाको मृत्यु भएको थियो । भने दोस्रो लहरमा जिल्लाका १ सय ४० र जिल्ला बाहिरका २ सय ३ जनाले ज्यान गुमाएका छन् ।
वीरगञ्जमा कोरोना संक्रमणबाट पहिलो पटक २०७७ जेठ २८ गते मानिसको मृत्यु भएको थियो । २०७७ सालको असोजमा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण विस्तारै कम हुँदै गएको थियो । तर २०७७ चैतदेखि पुन संक्रमण बढ्न थालेको थियो र यसलाई दोस्रो लहर भन्ने गरिएको छ । दोस्रो लहरमा पर्सामा २०७७ चैत ३० गते संक्रमितको मृत्यु भएको थियो । त्यसयता वीरगञ्जमा ३४३ जनाले ज्यान गुमाएका हुन् ।
दोस्रो लहरमा अस्पतालहरुमा जटिल समस्या लिएर आउने संक्रमित बढी थिए । तीमध्ये कतिपयलाई हाइ फ्लोमा अक्सिजन दिनुपरेको थियो । वीरगञ्जका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट हालसम्म ४ सय २९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तव बताउँछन् । वीरगञ्जका अस्पतालमा पर्सासहित बारा, रौतहट र सर्लाहीका बिरामी उपचारमा आउने गरेका थिए ।