कोभिड-१९

अस्पतालमा कोरोना बिरामिको चाप बढ्दो

Lumbinikhabar Online

कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो ।

भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको उपचार हुँदै आएको छ । निजी क्षेत्रको पुष्पाञ्जलि अस्पतालमा पनि कोभिडका बिरामीको उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा कोभिडका लागि छुट्याइएको शैय्या भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्याइएका ११० शैय्यामा आज दिउँसोसम्म १०६ बिरामी पुगेका छन् । आज मात्रै नयाँ १३ बिरामी थपिएका र १२ जना निको भएर घर गएका छन् ।

अस्पतालको सघन उपचार कक्ष र दुई भेन्टिलेटरमा २२ बिरामी छन् भने एचडियुमा २३ र अन्यमा ६१ जना छन्। सरकारी अस्पताल भएकाले यहाँ बाँकी रहेका चार शैय्या कुनै पनि बेला भरिनसक्ने हुँदा शैय्या थप गर्न छलफल भइरहेको पौडेलको भनाइ थियो । सरकारले सरकारी अस्पतालमा उपचार निःशुल्क गर्दै आएको छ ।

चितवन मेडिकल कलेजमा कोभिडका बिरामी ७१ पुगेका छन् । त्यहाँको सघन उपचार कक्षमा ३४, भेन्टिलेटरमा १७ र एचडियुमा ३७ बिरामी छन् । अस्पतालका व्यवस्थापक पारस अधिकारीले क्रमशः बिरामी बढ्दै गएको बताए ।

अस्पतालले कोभिड बिरामीका लागि २४२ शैय्या छुट्याएको थियो तर सङ्क्रमित बढ्दै गएपछि अन्य बिरामीलाई शैय्या छुट्याइएकामा पुनः कोभिडका बिरामी राख्न थालिएको हो ।

उण्डाइस बिरामी रहेकामा चार जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको कलेज अफ मेडिकल साइन्सेजले पनि दुईसय शैय्या कोभिडका लागि छुट्याइएको जनाएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच र अन्य अस्पतालमा ११ बिरामी उपचाररत छन् भने भरतपुर महानगरपालिकाको आइसोलेशनमा सात र कालिका नगरपालिकाको आइसोलेशनमा छ जना छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक हजार १४ मा झरेकामा आजसम्म आइपुग्दा बढेर दुई हजार १९२ पुगेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोराज अधिकारीले सरकारी अस्पताल बिरामीले भरिएकाले जिल्लामा कोरोनाको खतरा बढ्न थालेको बताए । कोभिड– १९ का लक्षणसहितका समस्या र सहयोगका लागि आग्रह गर्दै ठूलो सङ्ख्यामा फोन र एसएमएस आउन थालेको उनले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?