टप खबर

ओलम्पिकमा नेपालको प्रदर्शन

Lumbinikhabar Online

एथलेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १ सय मिटर दौडमा स्पर्धा गरेसँगै टोक्यो ओलम्पिक–२०२० मा नेपालको औपचारिक सहभागिता सकिएको छ। खेलकुदको महाकुम्भ ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट ५ खेलाडीले ४ खेलमा स्पर्धा गरेका थिए।

सन् १९६४ देखि ओलम्पिकमा सहभागी भएको नेपालको सहभागिता अहिलेसम्म औपचारिकतामै सीमित भइरहेको छ। नेपालमा खासगरी २००४ को एथेन्स ओलम्पिकपछि यसको चर्चा हुन थालेको हो।

तेक्वान्दो खेलाडी संगीना वैद्यले छनोट चरण पार गरेर ओलम्पिक खेलेपछि नेपालमा चर्चा बटुल्न थालेको हो।  नेपालबाट अहिलेसम्म तेक्वान्दोका संगीना र दीपक विष्टले मात्रै छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन्। त्यसअघि र पछिका कुनै खेलाडीले छनोट चरण पार गर्न सकेका छैनन्।

नेपालको प्रदर्शन 

ओलम्पिकको ३२ औँ संस्करणमा पौडीका गौरीका सिंह, एलेक्स शाह र एथलेटिक्सकी सरस्वती चौधरीले युनिभर्सालिटी प्लेसेसमार्फत प्रतिस्पर्धा गरेका थिए। सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत स्पर्धा गरेका थिए।

ओलम्पिकमा सहभागी ५ मध्ये तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउन सके। पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) र गौरीका सिंहले १ सय मिटर फ्री स्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए। जुडोकी सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिइन्। एथलेटिक्सकी सरस्वती चौधरीले व्यक्तिगत प्रदर्शन पनि सुधार गर्न सकिनन्।

Tags

छुटाउनु भयो कि ?