टप खबर

बाढीपहिरोले धनजनको क्षति

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

देशको बिभिन्न स्थानमा लगातार वर्षा हुँदा बाढी तथा पहिरोले धन जनको क्षति पु¥याउँदै गइरहेको छ । अहिले सवैको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित छ । दैविक प्रकोपले देशको बिभिन्न स्थानमा मानवीय क्षेतिका साथै धन जनको क्षति भएको छ, यो दुखद कुरा हो ।

बाढी पिडीतलाई जसले जे सकिन्छ राहातको ब्यवस्था मिलाउन अव ढिलाई गर्नु हुदैन । विस्थापित नागरिकलाई पुनःस्थापित गर्ने कुरामा सरकारको ध्यान छिटो भन्दा छिटो पुग्नु पर्छ । अहिलेको मनसुनी वर्षा निकै बढी हुन सक्ने संकेत दिइसकेको छ । तर, पनि प्राकृति विपद् रोक्न सकिनेगरी कुनै पूर्व तयारी भएको देखिएन । प्राकृति विपद व्यवस्थापन फितलो देखियो । सकिने जति र सम्भव भए जति प्रयास र अग्रिम व्यवस्थापन हुनु पर्दथ्यो । त्यो देखिएन । लगातार चार दिने अविरल वर्षाले देशका विभिन्न ठाउँमा क्षति पु¥याइसकेको छ ।

पूर्वनेपालको सिन्धुपाल्चोकमा सात जना मानिस बाढीबाट हराइसकेका छन् भने पश्चिम लमजुङमा ११ घर बाढीपहिरोले बगाएर ठूलो जनधनको क्षति पु–याएको छ । त्यसैगरी, हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङ पनि प्रभावित भएका छन् । यो वर्षा सात दिनसम्म लगातार भइरहने अनुमान गरिएको छ । यसले अझ कति क्षति पु¥याउने हो कुनै ठेगान छैन ।

तत्कालका लागि बाढीपहिरोबाट हराएकाको खोजी र पीडित परिवारलाई राहातको व्यवस्था गर्नुपर्छ । जोखिम बस्तीहरू सुरक्षित स्थानमा अस्थायी रूपमा सार्नुपर्छ र पीडितलाई सेवा सुविधा प्रदान गर्न तत्काल आवश्यक सामग्रीको व्यवस्थापन गरिनुपर्छ । मनसुन लम्बिने संकेत देखाएको छ ।

त्यसलाई ख्याल गरी देशभरका बाढी, पहिरो र डुबानबाट सम्भावित बढी जोखिमयुक्त क्षेत्रका लागि बजेट तथा जनशक्तिहरूको समयमै व्यवस्थापन गरिनुपर्छ । यो कुरामा सरकार गम्भिरताका साथ लाग्नु पर्छ । अघिल्ला वर्षहरूमा पनि बाढी पहिरोले सिन्धुपाल्चोक निकै प्रभावित भएको थियो ।

यस वर्ष पनि सिन्धुपाल्चोक र यसका आसपासका जिल्ला बाढी पहिरो प्रभावित हुने देखिएको छ । सिन्धुपाल्चोकलगायत वरपरका जिल्ला निकै जोखिममा छन् । यस वर्षको मनसुनी अव सुरु हुदै छ । अझै ठूलो क्षति पु¥याउने आशंका गरिएको छ । देशैभर जोखिमका क्षेत्र धेरै छन् । हाल जनधनको क्षति भइरहेका जिल्लामा तुरुन्त राहत पु¥याउने काम गर्नु पर्छ ।

जोखिम वस्तीको अस्थायी बसोबास मिलाउने काम गर्नु पर्छ । सम्भावित जोखिमयुक्त क्षेत्रको अध्ययन गरी जोखिम न्यूनीकरणका लागि प्रयास गर्नु पर्छ । जोखिम निम्तिनु भन्दा पहिला त्यसको व्यवस्थापन गर्नु उत्तम हुनेछ । बाढी र पहिरोले हरेक बर्ष जोखिम निम्त्याउने गरेकोे छ ।

वर्षातको समय पहाडी क्षेत्रमा पहिरो र बाढीले क्षति पु–याउँदै आएको छ । तराईमा डुबानको समस्या निम्तन सक्ने खतरा छ । तराईमा हुन सक्ने डुबानको समस्या हल गर्न अहिले नै पूर्व तयारी गर्नु पर्छ । यसका लागि सतर्कताका साथै आवश्यक सामग्री र जनशक्तिको जोहो समयमै गर्नु जरुरी हुन्छ ।

Tags

छुटाउनु भयो कि ?