जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् ।स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको उनले बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाएका छन् ।
यसैगरी शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका छन् ।