टप खबर

ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।

स्रोतका अनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केही सर्तसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सहमति भएको हो।

अविश्वास प्रस्ताव दर्तालगत्तै संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति भएको स्रोतले दाबी गरेको छ।

देउवा नेतृत्वकै सरकार भएका बेला नेपालले हस्ताक्षर गरेको एमसीसी सम्झौता संसदमा दर्ता भए पनि २ वर्षदेखि पास हुन सकेको छैन। ओली प्रधानमन्त्री बनेपछि नेकपाकै एउटा पक्ष विरोधमा उत्रिएका कारण एमसीसी संसदमै रोकिएको हो।

अहिले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याई आफ्नो नेतृत्वमा सरकार बनेपछि एमसीसी अनुमोदन गरिनुपर्ने अडान देउवाले राखेपछि माओवादी केन्द्रले केही सर्तसहित त्यसमा सहमति जनाएको स्रोतको दाबी छ।

स्रोतका अनुसार केही बुँदा परिमार्जनसहित एमसीसी संसदबाट अनुमोदन गर्ने सहमति भएको हो। त्यसका लागि अहिले संकल्प प्रस्ताव तयारी गर्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ।

Tags

छुटाउनु भयो कि ?