कोभिड-१९

अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन भारतलाई पत्र

Lumbinikhabar Online

कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो ।

पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग कुराकानी अगाडि बढाएको छ ।

नेपालले लिक्विड अक्सिजन भारतको झारखण्डबाट ल्याउने गरेको छ । नेपालले भारत सरकारसँगै झारखण्डको अक्सिजन उपलब्ध गराउने कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ ।

यतिवेला भारतमा नै अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाव भए पनि नेपाललाई सकेसम्म छिटो उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीले दिएका छन् ।

नेपालले सबैभन्दा उच्च प्राथमिकतामा ‘लिक्विड अक्सिजन’ रहेको छ । संक्रमितको संख्या ह्वात्तै बढेमा ‘लिक्विड अक्सिजन’ को अभाव हुने सक्ने सरकारी अधिकारीहरु बताउँछन ।

भारतले देशभित्र अक्सिजनको अभाव भएलगत्तै निर्यातमा बन्देज लगाएको छ । नेपालले लिक्विड अक्सिजन भारतको झारखण्डबाट ल्याउने गरेको छ । नेपालले भारत सरकारसँगै झारखण्डको अक्सिजन उपलब्ध गराउने कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ । सो कम्पनीका अधिकारीहरूले नेपालले आफैं ट्याङ्करको व्यवस्था गरेमा र भारतीय विदेश मन्त्रालयले स्वीकृति दिएमा उपलब्ध गराउन कुनै कठिनाई नहुने जानकारी गराएका छन् ।

एक उच्च अधिकारीले भने, ‘नेपाललाई धेरै मात्रामा अक्सिजन नचाहिने भएकाले सकारात्मक जवाफ आएको छ तर कहिले प्राप्त हुन्छ, यकिन भने छैन ।’ भारतले उपलब्ध गराउने निर्णय गरे लगत्तै सिलिण्डर पठाउन आफूहरू तयार रहेको नेपाली व्यापारीहरूले आश्वासन दिइसकेका छन् ।

त्यसैगरी सरकारले अक्सिजन सिलिण्डर उपलब्ध गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ । अधिकारीहरूका अनुसार देशभरका अस्पतालहरूमा अक्सिजनको अभाव नभए पनि बिरामी बढेको खण्डमा पर्याप्त अक्सिजन सिलिण्डरहरू भने छैनन् ।

त्यसैगरी रेम्देसिभिर लगायतका अन्य अत्यावश्यक औषधि उपलब्ध गराउन पनि भारतलाई आग्रह गरिएको छ । अस्पतालको आईसीयू युनिटको लागि आवश्यक सर्जिकल सामग्रीहरू समेत माग गरिएको छ ।

यस बाहेक नेपालले भुक्तानी गरिसकेको १० लाख खोप पनि सकेसम्म छिटो उपलब्ध गराउन नेपालले भारतसँग ताकेता गरिरहेको छ । भारतले सो खोप पठाउन ढिला गर्दा ६० वर्षभन्दा माथिकालाई दोस्रो चरणको खोप अभियान प्रभावित हुने खतरा छ ।

तर भारतमा नै यतिवेला अक्सिजनको अभावमा धेरैको मृत्यु भइरहेको हुनाले नेपालले आग्रह गरे पनि भारतले तत्कालै अक्सिजन र अन्य सामग्री पठाउने सम्भावना कम देखिन्छ । भारत आफैंले तत्कालका लागि जर्मनीबाट अक्सिजन ल्याउने तयारी गरिरहेको छ । तर केही ढिलो भएपनि उपलब्ध गराउने आश्वासन दिएको सरकारी अधिकारीहरु बताउँछन् ।

Tags

छुटाउनु भयो कि ?