डा.डिआर उपाध्याय,
नेपालमा महिला हिंसाका घटनाहरु बेला बेलामा चर्चामा आउने गर्दछन । महिला माथि हुने जघन्य अपराधलाई नै महिला हिंसा भनिन्छ । जस्तै बलात्कार, दाइजो प्रथा, बोक्सीको आरोप, समाजमा छोरा नजन्माएकामा गरिने हिंसा आदी इत्यादी हुन । बिशेष गरेर यस्ता घटनाहरु अज्ञानताका कारण गरिने गरिन्छ । जबर्जस्ती करणी गर्नुलाई बलात्कार भनिन्छ । कुनै स्त्रीलाई उसको इच्छाविपरीत जबर्जस्ती करणी गर्नु नै बलात्कार हो । हाम्रो समाजमा अथवा बिशेष गरेर तराई मधेसमा दाइजो नदिएको आरोपमा पनि धेरै महिलाहरु हिंसाको सिकार बनेका छन ।
त्यसै गरि बोक्सीको आरोपमा पनि महिला माथि हिंसा हुने गरेको छ । यो रुढीवादी परम्परा हो । यस्ता रुढीवादी परम्परालाई तोडेर अगाडि बढ्नु पर्छ । निर्दोष महिलालाई अथवा एकल महिलालाई आर्थीक ,सामाजिक सबै हिसाबले अपमानित गरी बोक्सीको आरोप लगाई यातना दिई मलमुत्र खुवाउनु यो जघन्य अपराध हो । विज्ञानले प्रमाणित नगरेको यो रुढीवादी प्रथाको सिकारमा महिलाहरु परेका छन् ।यस्ता रुढीवादी परम्परालाई जरै देखि उखलेर फाल्ने काम गर्नु पर्छ । यस्ता कुराहरुमा विश्वास गर्नु अहिलेको युगमा मुर्खता हुनेछ । हामीले देखिरहेका छौ, समाजमा छोरा नजन्माएकोमा कति महिलाहरु अपमानित र हिंसा खेप्न बाध्य छन ।
छोरी मात्र जन्माउनुमा महिलाको एकल दोष हुदैन तर पनि यसको दोष महिलालाई मात्रै देखाइन्छ । अशिक्षित वर्गका त कुरा छाडौँ समाजमा शिक्षित भनेर कहलिएका तिनै पुरुषहरु बाट नै आफ्ना घरभित्र महिलाहरु हिंसा खेप्न बाध्य भएका समाचारहरु समय समयमा आउने गर्छन । अब सोचौँ तिनै शिक्षित व्यक्तिबाट आफ्नै घरमा हिंसा हुन्छ भने तिनीहरुबाट समाजले कस्तो शिक्षा सिक्ने ? त्यसैगरि महिलाहरु कार्यलयमा समेत आफु सुरक्षित नभएको गुनासोहरु बेलाबेलामा बाहिर आउने गर्छन्। यो एक्काइसौँ सताब्दीमा पनि महिलामाथि हुने यस्ता घटनाले गर्दा हाम्रो समाज अझै पनि पुरुष प्रधान छ भन्ने पुष्टि गर्दछ । अहिलेको युगलाई पुरानो युगसँग तुलना गरेर बस्नु मुर्खता हुनसक्छ । यो युगका महिलाहरु शिक्षित र चेतनशिल छन् ।
तर पनि यस्ता घटनाहरु खेप्न किन बाध्य छन् ? यो आजको गम्भिर प्रश्न हो । बेला बेलामा महिला हिंसाका विषयमा तारे होटलमा थुप्रै बजेट खर्च गरि गोष्ठी पनि हुने गर्छन् । तर ती गोष्ठीहरु तारे होटलमा मात्र सिमित रहे । विभिन्न महिला अधिकार सम्वन्धी संघ सस्थाहरु पनि सक्रिय छन् । तर पनि महिला हिंसा रोकिएको छैन् । महिला हिंसा रोक्न तारे होटलमा मात्र सिमित नभएर समाजका बस्ती बस्तीमा जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने आजको आवश्यकता देखिन्छ ।अहिलेको युग हिजोको जस्तो छैन ।अहिलेको युग निरन्तर चलायमान छ । युग सँगै लैंगिक, सामाजिक तथा सांस्कृतिक मान्यताहरू पनि लोपहुँदै गएका हुन्छन् र नयाँ मान्यताले जन्म लिइरहेका हुन्छन् ।
हिंसा र अपराधलाई केवल लैंगिक दृष्टिले होइन, बरु त्यसलाई न्यायोचित रुपले हेर्नु आवश्यक छ । अहिलेको युगमा पनि बलात्कार र यौनजन्य हिंसाका घटनाहरूले चरम रूप लिइरहेको देखिन्छ । घर, कार्यस्थल, विद्यालय, बाटोघाटो, मेलापात सबैतिर महिलाले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । इन्टरनेट वा सामाजिक सञ्जालमा लेखिने बोलिने गुप्त च्याटबाट पनि महिला हिंसाका सूचकहरू भेटिन्छन् । पिडीत महिलाका उजुरीका आधारमा यस्ता घटनाहरु बाहिर आउने गर्दछन् । र अपराधीहरु प्रकाउ परेका हुन्छन् तर देशको फितलो कानुनका कारण छिटो उन्मुक्ति पाउँछन्। यसले गर्दा अपराधीको मनोवल बढेको देखिन्छ र यस्ता घटना बारम्बार दोहोरिने गर्छन् । यस्ता अपराधीहरुलाई कारवाही गर्न कडा कानुन ल्याउनु पर्छ । त्यसो भयो भने मात्र यस्ता अपराधिक कार्यहरु निर्मुल हुने थिए ।