टप खबर

प्रचण्ड–नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

Lumbinikhabar Online

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। तोस्रो चरणको कार्यक्रम पूरा गरेको सो समूहले चौथो चरणको कार्यक्रमको घोषणा गरेको हो।

फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ। ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले आफूहरुले पार्टीको आधिकारिकता पाउनका लागि आन्दोलन नगरिएको जिकिर गरे।

‘हामीले पार्टी आधिकारिकताका लागि आन्दोलन गरेका होइनौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी आधिकारिकताको विषय राजनीतिक दलसम्बन्धी ऐनले मार्गनिर्देशन गरेको छ, त्यो अनुसार हामीले आधिकारिकता पाउने सुनिश्चित छ,’ उनले भने, ‘अहिलेको विरोध सभा वा आन्दोलन प्रतिगनम र असंवैधानिक कदम विरुद्ध हो। यो आधिकारिकता पाउनका लागि होइन।’

फरक प्रसंगमा प्रवक्ता श्रेष्ठले आफूहरु चुनावको पक्षमा रहेको बताएका छन्। ‘हामी दुई वर्षपछि हुने चुनावको पक्षमा छौं,’ उनले भने, ‘अहिले हामी सडक र कानुनी रुपमा नै संघर्षरत छौं। अहिलेको सरकारले चुनाव गर्न मिति घोषणा गरेको होइन। प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक अँध्यारो सुरुङभित्र पस्छ।’

Tags

छुटाउनु भयो कि ?