कार्यक्रम

भव्य सहभागितासहित धनगढीमा बुद्ध जयन्ती: १३,४३० पाइला शान्ति पदयात्रा

Lumbinikhabar Online

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँको प्रमुख आतिथ्यतामा २५७० औँ बुद्ध जयन्ती धनगढीमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्ध विहार, धनगढी–१ को आयोजनामा सम्पन्न कार्यक्रममा शान्ति पदयात्रा, धार्मिक तथा सांस्कृतिक गतिविधि, ध्यान शिविरलगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो। शान्ति पदयात्रा संयोजक जितु तुलाधरको नेतृत्वमा सञ्चालन गरिएको पदयात्रा १३,४३० पाइला तय गर्दै सम्पन्न भएको हो।

उक्त पदयात्रा बुद्ध मन्दिरबाट सुरु भई धनगढी चौराहा पुगेर पुनः बुद्ध विहारमा समापन गरिएको थियो। पदयात्रामा सहभागीहरूले बुद्धका शान्ति सन्देश बोकेका प्लेकार्डसहित विभिन्न नाराहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा धम्मरत्न भन्ते, विभिन्न लामा गुरुहरू, बुद्ध मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, आजीवन सदस्य, सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्य, विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमकै अवसरमा सहभागीहरूका लागि पिउने पानीको व्यवस्था गरिनुका साथै निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो। साथै १० मिनेटको ध्यान कार्यक्रमले सहभागीहरूलाई आध्यात्मिक अनुभूति दिलाएको थियो।  विशिष्ट अतिथिका रूपमा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्द ,राष्ट्रिय निर्वाचन आयुक्त  डा.जानकी तुलाधर , नेपाल नेत्रज्योति संघ धनगढीका लोकराज जोशी, ताइवानबाट आएका लाफिङ्ग, बुद्ध विहारका गुरुहरू तथा ऊ शान्ति विश्वविद्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापतित्व कमल ब. पुन मगरले गर्नुभएको थियो भने सम्पूर्ण व्यवस्थापन अम्बिका प्रसाद आचार्य र पुष्पराज पन्तले सम्हाल्नुभएको थियो। कार्यक्रम सञ्चालन पर्शुराम चौधरी र गुनाकर पनेरुले संयुक्त रूपमा गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको सञ्चालन केशव बलायरले गर्नुभएको थियो।

बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले शान्ति, सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गर्दै धनगढीमा धार्मिक तथा सांस्कृतिक एकताको उदाहरण प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्।

Tags

छुटाउनु भयो कि ?