नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ ।
गत साउनमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीतिगत परिवर्तन नगरि यथावत राखेको छ । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको हो ।
नीतिबाटै मूल्य स्थिरता तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ ।
मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको र बाढी तथा पहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणले अर्थतन्त्रको क्षेत्र चलायमान बनाउने राष्ट्र बैंकको दाबी छ ।