मनोरन्जन

विश्व किर्तिमानी गीतकार डा.उपाध्यायद्वारा प्रेम दिवसमा ‘हट एयर बेलुन’मार्फत गीत सार्वजनिक

Lumbinikhabar Online

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायले आफ्ना प्रस्तुतिलाई अनौठो तरिकाले प्रस्तुत गर्ने गर्नुहुन्छ । सधै केही न केही नयाँनयाँ तरिका अपनाएर आफ्ना प्रस्तुति सार्वजनिक गर्नुहुने डा.उपाध्यायले प्रेम दिवसको अवसर पारेर आफ्ना गीत ‘हट एयर वेलुन’मार्फत सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्ना एक सय पचासभन्दा बढी गीत बेलुन ‘हट एयर बेलुन’मार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो ।

भक्तपुरको देउराली डाडामा रहेको टेन्ड हेवन हिल रिसोर्टमा एक कार्यक्रमबीच डा.उपाध्यायले आफ्ना एक सय पचासभन्दा बढी गीतलाई हट एयर बेलुनमार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो । प्रेम दिवस मनाउन रिसोर्टमा पुगेका थुप्रै युवा युवतीले उक्त दृश्यमा रमाइलो गरेका थिए । डा.उपाध्यायका गीत अंकित थुप्रै गीत आकाशमा उडिरहँदा एक खालको रमाइलो वातावरण बनेको थियो । रिसोर्टका सञ्चालक रामजी अवालले पहिलो पल्ट यस्तो दृश्य देखेको भन्दै डा.उपाध्यायका कार्यलाई प्रशंसा गर्नुभएको थियो । यस्तै अन्य अतिथिहरूले डा.उपाध्यालाई उक्त कार्यका लागि बधाई तथा शुभकामना दिएका थिए । आफ्नो केही अनौठा काम गर्ने सिलसिलामा प्रेम दिवसको अवसर पारेर गीत हट एयर बेलुनमार्फत सार्वजनिक गरेको डा.उपाध्यायले बताउनुभयो ।

डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । प्रेम दिवस मनाउन रिसोर्टमा पुगेका व्यक्तिहरूले राखेका जिज्ञासाको उत्तर दिँदै डा.उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।

Tags

छुटाउनु भयो कि ?