कोशीमा जनता समाजवादी पार्टी (जसपा) शुक्रबार सरकारमा सहभागी हुने भएको छ । जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १/१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी सांसद निर्मला लिम्बूले शुक्रबार स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेको बताए । लिम्बूले दिउँसो २:३० बजे प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको उनले बताए ।
गठबन्धन दल कांग्रेसको तर्फबाट कोशीको मुख्यमन्त्री बनेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएका छन् । उनीहरूको माग सम्बोधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी हुने भएको हो ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री रहेकी लिम्बूले पहिचान पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गर्न लागएको विरोधमा पार्टीको निर्णयअनुसार पदबाट राजीनामा दिएका थिए । त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले असंवैधानिक रूपमा बहुमत पुर्याएर पहिलो पटक थापा मुख्यमन्त्री नियुक्त हुँदा पनि जसपाले पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिएका थिए ।
सर्वोच्च अदालतको आदेशले दोस्रो पटक साउन १७ गते थापा पुनः मुख्यमन्त्री नियुक्त भएपछि पनि जसपाले पुरानै अडान दोहोर्याएर सरकारमा सहभागी नभएकाले प्रतिबद्धता पत्र सार्वजनिक गर्न उनी बाध्य भएका हुन् ।
मुख्यमन्त्री थापाले अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भदौ २ गते बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने प्रक्रिया सुरू गर्ने र अबको १५ दिनभित्र विश्वासको मत लिने बताए ।
कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेकाले उनको सरकार ३० दिनका लागि मात्रै हुने देखिएको हो । त्यसपछि प्रदेशसभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था आउने देखिएको हो ।
सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर‚ गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याएको हो ।
एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएका छन् । गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जाने नजाने अहिले नै भने निर्णय भइनसकेको उनको भनाइ थियो ।
सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङले सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आह्वान गरेका हुन् ।