News in Nepali

टुंगियो रेखा थापाको फिल्म ‘उपहार’ को स्क्रिप्ट विवाद

Lumbinikhabar Online

रेखा थापाको निर्माणमा बन्ने फिल्म ‘उपहार’ को स्क्रिप्ट विवाद टुंगिएको छ।

फिल्मका लेखक सुलक्षण भारतीले आफ्नो वान-लाइन स्टोरी चोरीको आरोप लगाएका थिए। निर्माण टिमले आफूलाई जानकारी नगरी अर्काे लेखकलाई फिल्मको स्क्रिप्ट लेख्न दिएको भन्दै उनले आक्रोश पोखेका थिए।

मंगलबार फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र निर्माता तथा अभिनेत्री रेखा थापाले फिल्मको कथा, पटकथा तथा संवादमा भारतीको नाम उल्लेख गर्ने बताएपछि विवाद टुंगिएको हो।

भारतीले फेसबुकमार्फत विवाद टुंगिएको जानकारी दिएका छन्।

‘कथा, पटकथा र संवादमा मेरो नाम उल्लेख गर्ने भनि हामीबीच सम्झौता भयो। हामीले सल्लाह अनुसार यस विषयलाई यतै टुंग्याउने निर्णय गर्‍याै,’ उनले लेखेका छन्।

‘उपहार’ फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सामान्य कुरामा बुझाई फरक हुँदा विवाद भएको उल्लेख गरेका छन्।

‘यो परिवारभित्रको सामान्य विवाद मात्र थियो। जुन परिवारभित्रै बसेर समस्या समाधान भयो। यसमा लहरो तान्दा पहरो खस्ने केही थिएन। मात्र बुझाई फरक थियो। सबैका आ-आफ्नै कर्तव्य र बुझाईमा घटिबढीको अवस्था थियो। परिवारभित्रै छलफलमा मिलाइयो,’ उनले फेसबुकमा लेखेका छन्।

भदौबाट छायांकनमा जाने फिल्ममा अभिनेत्री रेखा थापा, पूजा शर्मा र बेनिशा हमालको मुख्य भूमिका रहनेछ।

Tags

छुटाउनु भयो कि ?