News in Nepali

नेपाल नेत्रज्योति संघ भन्छ– ‘जँचाउन आउनेमध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या’

Lumbinikhabar Online

देशभर नै आँखा पाक्ने समस्या (एडिनो भाइरल कन्जंग्टिवाइटिस) फैलिएसँगै आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका बिरामीहरू बढेका छन् । अहिले आँखा अस्पतालमा जाँच गराउन जानेमध्ये करिब ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिने गरेको नेपाल नेत्रज्योति संघले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ अन्तर्गतका आँखा अस्पतालहरुमा आँखा जाँच गराउन जाने बिरामीमध्ये करिब ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।
‘सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो । अहिले देशैभरि यो समस्या फैलिरहेको छ ।

हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ । अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ,’ डा. मिश्रले भने ।

देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले बताए ।

नेपाल नेत्रज्योति संघको तथ्यांक अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगन्जमा २० प्रतिशत, विनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेँलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरु देखिन्छन् । हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएपनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । सुरुवातमा भारतको सीमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरि फैलिएको छ ।

देशैभरि यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तहहरुले विद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा. डा ज्ञानेन्द्र लामिछानेकाअनुसार आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ । ‘यो एडिनोभाइरसका कारण लाग्ने रोग हो । यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनुपर्दछ चिकित्सकको सुझावबिना जथाभावी औषधीको प्रयोग गर्नु हुँदैन, यसले थप जटिलता निम्त्याउन पनि सक्छ,’ प्रा.डा लामिछानेले भने ।

समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको डा. लामिछानेको भनाइ छ । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको वस्तु तथा उनीहरुले प्रयोग गरेका सामानहरु प्रयोग गरे मात्रै यो रोग सर्ने उनले जानकारी दिए ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उनको सुझाव छ ।

Tags

छुटाउनु भयो कि ?