News in Nepali

फिल्म ‘अगस्त्य’ विदेशमा २५ सय बढी ‘शो’ हुने

Lumbinikhabar Online

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म हो ‘अगस्त्य’ । सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको फिल्म अहिले छायांकनरत छ ।

फिल्मको छायांकन नसकिँदै ओभरसिज राइट्स भने बिक्री भएको छ । सेभेन सिज कम्पनीले ‘अगस्त्य’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हो । यो कम्पनीले यसअघि फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को पनि विदेश राइट्स खरिद गरेको थियो ।

फिल्म निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्ले सेभेन सिजसँग अन्तर्राष्ट्रिय रिलिजसम्बन्धी सम्झौता भएको जनाएको छ । डार्क हर्सद्वारा जारी विज्ञप्तिमा अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा फिल्म रिलिज हुने जनाइएको छ ।

यो सम्झौता फिल्म उद्योगको लागि नै सकारात्मक पाटो रहेको कम्पनीको विश्वास छ । प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् । फिल्म एक्सन–लभस्टोरी कथामा बन्ने छ ।

Tags

छुटाउनु भयो कि ?