News in Nepali

सर्वसाधारण झुक्किएपछि मन्त्रालयले भन्यो- फिल्म सेन्सर र विकास बोर्ड अलग हुन्

Lumbinikhabar Online

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्म क्षेत्रका दुई निकाय चलचित्र विकास बोर्ड र चलचित्र जाँच (सेन्सर) समितिलाई सर्वसाधारणमा दुविधा भएको भन्दै स्पष्ट पारेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै दुई निकायको पहिचान र कामलाई समेत स्पष्ट रुपमा उल्लेख गरेको छ । पछिल्लो समय भारतीय फिल्म ‘आदिपुरुष’ लगायतको विवादमा सर्वसाधारणले यी दुई बोर्ड एउटै रहेको भन्दै टिप्पणी र आलोचना गरिरहेका थिए ।

यसै सन्दर्भमा मन्त्रालयले यी निकायको कामकारवाहीबारे स्पष्ट पार्दै सूचनामा दुवैको बोर्ड समिति सदस्यको नाम समेत उल्लेख छ ।

चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्ने तथा चलचित्र व्यवसायको गुणस्तरमा अभिवृद्धि गर्ने चलचित्र विकास बोर्डको मुख्य काम रहेको मन्त्रालयले जनाएको छ । नेपालमा प्रदर्शन गरिने स्वदेशी तथा विदेशी चलचित्रको जाँचपास गरी प्रमाणपत्र जारी गर्नु केन्द्रीय चलचित्र जाँच समितिको मुख्य काम रहेको उल्लेख छ ।

फिल्मलाई सेन्सर गर्नुभन्दा अघि सेन्सरका लागि आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयसमक्ष सिफारिस गर्ने दायित्व चलचित्र विकास बोर्डको भएको र यसरी सिफारिस भई आएका चलचित्रको जाँच सेन्सर बोर्डले गर्ने सूचनामा उल्लेख छ । सेन्सर बोर्डको सचिवालयको रुपमा मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले काम गर्ने स्पष्ट पारिएको छ ।

भुवन केसीको अध्यक्षतामा चलचित्र विकास बोर्डमा सात सदस्यीय कार्यसमिति रहेको र मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा केन्द्रीय चलचित्र जाँच समिति रहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

Tags

छुटाउनु भयो कि ?