News in Nepali

जनयुद्ध, प्रचण्ड र सीता

Lumbinikhabar Online

खोपीमा बसेर अरुले आर्जन गरेको लोकतन्त्रमा मनपरीतन्त्रको भतेर लगाउने इतिहास नबुझेकालाई लोकतन्त्र कालो अक्षर भैंसी बराबर नै हो । सामाजिक सञ्जालमा लोकप्रिय हुने नाममा उनीहरू मलामी जाँदा सलामीको तरिका बिर्सन्छन् । तसर्थ उनीहरूले इतिहास पढून् ।

एकपटक नक्साभित्रको भूगोलले भोगेका कठिनतम दिनहरू सम्झिउन् र लोकतन्त्र कसरी सबैका आलोचनात्मक स्वरहरूलाई समेत आँसुका बीचमा पनि सम्मानका साथ स्वीकार्छ, त्यो जानुन् ।

हो, यो त्यही लोकतन्त्र हो जहाँ हजारौंको आँसु, पसिना र रगतको संयोजन छ । जहाँ पुष्पकमल दाहालको निपूर्ण नेतृत्व छ र सीता दाहाल पौडेलका सयौं रहरहरूको चिहान छ । सीता दाहाल एक सामान्य परिवारमा जन्मेकी नारी हुन् । जीवनको प्रारम्भ गर्दा सायद पढेलेखेको मानिस जीवन साथी बन्दा जीवनयात्रा सहज हुन्छ भन्ने उनमा विश्वास थियो । तर नियतिले त्यसो भनेन । शब्द नबुझ्ने मानिसलाई समयले क्रान्तिकारी बनाइदियो । सहज जिन्दगीको अपेक्षामा सुरु भएको जिन्दगीले पाइला पाइलामा काँढा रोपिदियो । एक महान कामका लागि ओँठको हाँसो यसै–यसै गायब भयो । उनले क्रान्ति सिकिन् । बलिदान सिकिन् । मुक्ति अभियान र वर्गप्रतिको निष्ठा सिकिन् ।

सिकाइ नै त जिन्दगी रहेछ, उनले सबैभन्दा धेरै सादगी सिकिन् । यही सादगीपनले उनलाई मृत्युले जितेपछि पनि मर्न नपर्ने बनाइदियो ।

त्यसो त कार्ल मार्क्सलाई मान्नेहरू उनको जीवनलाई आदर्श मान्छन् । जेनी मार्क्सलाई नारी जीवनको उच्चतम नैतिकता ठान्छन् । जेनीले जे भोगिन्, त्यसको जगमा मार्क्सवाद उभियो । मार्क्स विश्वविख्यात भए ।

यता सीता र जेनीको जीवनका केही हिस्साहरू उस्तै–उस्तै लाग्ने गरी मिलेको देख्दा भन्न सकिन्छ सीता नभएको भए प्रचण्ड, प्रचण्ड हुँदैनथे । प्रचण्ड, प्रचण्ड नभएको भए मुलुकमा गणतन्त्रको आँकुरा नपलाउन सक्थ्यो ।

भनिन्छ एक नायकको जन्ममा धेरै पर्दामा नदेखिने महानायकहरूको बलिदान हुन्छ । सीताको जीवन पर्दामा नदेखिएको त्यही तिलस्मी यात्राको सुमधुर संगीत हो ।

जेनी मार्क्स मार्क्सभन्दा जेठी थिइन् र सीता पनि प्रचण्ड भन्दा जेठी । यी दुवैको जीवनमा दुःखको बबण्डर थियो । जसलाई यी दुवैले खुसी–खुसी सहे । सन्तानको सन्ताप जेनीलाई ती नहुर्कने बेलासम्म मात्र सीमित रहेन, छोराछोरीको बिहेबारी पछि पनि आइलागिरह्यो । जेठी छोरीलाई क्यान्सरले जित्यो । एकमात्र छोरो एकाबिहानै ओछ्यानबाट कहिल्यै नउठ्ने गरी सुत्यो ।

दुनियाँको नजरमा मार्क्स ‘लफङ्गो’ जीवन जिउँथे । जस्तै सन्तापमा पनि जेनीले मार्क्सको गोपनीयता खोलिनन् । परिस्थिति कस्तो बन्यो भने जेनीको अन्तिम यात्रामा मार्क्स उनलाई विदाइ गर्न पनि जान सकेनन् किनकि उनी क्यान्सरले थलिएका थिए । आज दुनियाँले मार्क्सलाई जेनीको अन्तिम यात्रामा सहभागी नभएकोमा भावनाहीन भन्दैन ।

पुष्पकमल, पुष्पकमलबाट प्रचण्ड बन्ने अभियानमा थिए । राज्यले श्रीमानको टाउकाको मूल्य तोक्दा पनि सीताले कहिल्यै नुर गिराइनन् । अन्तिम यात्रामा उनले श्रीमान छन् भन्ने अनुभूति नै गर्न पाइनन् किनकि उनलाई स्मरण नहुने रोग थियो ।

माओकी पत्नी याङ काइहुइलाई कोमिनताङ सेनाले ४ नोभेम्बर १९३० मा चांगसा सहरमा फाँसी दियो । याङ काइहुइले समाजवाद र चिनियाँ पितृभूमिका लागि मृत्युदण्डलाई सहर्ष स्वीकार गरिन् । उनलाई थाहा थियो– उनी झुक्दा माओको मनोबल टुक्रिन्छ । उनले माओलाई टुक्रिन दिइनन्, बरु गोली पिएर वीरगति प्राप्त गरिन् ।

सीता दाहालले पनि चलिरहेको जनयुद्धमा आफ्ना सन्तानसहित आफूलाई एक राजनैतिक कार्यकर्ताका रूपमा होमिन् । छोरो राइफल बोकेर युद्धमोर्चामा जाँदा उनी कहिल्यै विचलित भइनन् । मरिन्छलाई स्वीकार गरिन् र दक्षिण एशियामा हिमाल मुनि चलिरहेको मुक्तियुद्धको हेडक्वार्टरको व्यवस्थापन सम्हालिन् ।

Tags

छुटाउनु भयो कि ?